बनेपा नगरपालिकाको ४५औँ स्थापना दिवसमा उत्कृष्ट करदाता रंजितकार सम्मानित
बनेपा - बनेपा नगरपालिकाको ४५औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहमा आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत उत्कृष्ट करदातामध्ये वडा नम्बर १० निवासी सिंजा रंजितकार सम्मानित भएकी छन्। व्यक्तिगत कर नियमित रूपमा दाखिला गरेबापत उनलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो।
सम्मान नगर प्रमुख शान्ति रत्न शाक्य तथा उपप्रमुख बिमला सापकोटाले संयुक्त रूपमा प्रदान गरेका थिए।
सम्मानित सिंजा रंजितकार समाजसेवी, सामाजिक व्यक्तित्व तथा युवा व्यवसायीका रूपमा परिचित छन्। उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा २०७९ सालको स्थानीय तह निर्वाचनमा नगर प्रमुखका प्रत्याशी रत्नकुश रंजितकारकी धर्मपत्नी हुन्।
नगर प्रमुख शान्ति रत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कन्चन चन्द्र बादे श्रेष्ठ प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक प्रमुख दिपक कुमार गौतम विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा नगर विकासमा करदाताको भूमिकालाई अत्यन्त महत्वपूर्ण मान्दै कर तिर्ने संस्कृतिलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइयो। नगर प्रमुख शाक्यले स्थानीय विकासका लागि नागरिकको कर योगदान आधारभूत शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा उत्कृष्ट करदातालाई थप प्रोत्साहन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय स्तरमा सामाजिक सक्रियता, व्यवसायिक योगदान र जनसरोकारका विषयमा निरन्तर सक्रिय रहँदै आएको रंजितकार परिवारको कर योगदानलाई यस सम्मानले थप अर्थपूर्ण बनाएको नगरपालिकाले जनाएको छ।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।