२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

काभ्रेली स्रष्टाका दुई कृति सार्वजनिक, साहित्यिक उत्सवमा कविहरूको जमघट

नमनखबर डेस्क असोज २६, २०८२ २२४
काभ्रेली स्रष्टाका दुई कृति सार्वजनिक, साहित्यिक उत्सवमा कविहरूको जमघट
२०८२ असोज २५, शनिबार
बनेपा । बनेपामा आयोजित विशेष साहित्यिक समारोहमा दुई पुस्तक — “काभ्रेली आवाज” र “गाउँ बिरानो भयो” — सार्वजनिक गरिएका छन्। प्रगतिशील लेखक सङ्घ काभ्रेको आयोजनामा सम्पन्न कार्यक्रममा ‘स्रष्टा विशेष’ अन्तरगत कवि नवराज उत्साहीले आफ्ना कविता वाचन गर्नुभएको थियो। समारोहमा काभ्रेली स्रष्टाहरूको सामूहिक रचनासङ्ग्रह “काभ्रेली आवाज” र कवि मुरहरि रायमाझी ‘हरि’को मिश्रित कविता सङ्गालो “गाउँ बिरानो भयो” लोकार्पण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रलेसका पूर्व अध्यक्ष डा. जिवेन्द्रदेव गिरिले “काभ्रेली आवाज” मा समावेश ५९ वटा कविताहरूले समाजको दर्पण उजागर गरेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार ४१ जना स्रष्टाका रचनाले नारी चेतना, सामाजिक विद्रोह, राजनीतिक विकृति र पर्यावरणीय चेतना जस्ता धार समेट्न सफल भएका छन्। डा. गिरिले काभ्रेली स्रष्टाहरूले साहित्यलाई समाज रूपान्तरणको माध्यमका रूपमा उपयोग गरिरहेको उल्लेख गर्नुभयो।
त्यसैगरी, “गाउँ बिरानो भयो” कृतिमाथि परिचर्चा गर्दै शब्द यात्रा प्रकाशनका अध्यक्ष तथा वरिष्ठ साहित्यकार हरि मञ्जुश्रीले कवि रायमाझीका कविताहरू प्रकाशनपूर्व नै चर्चा र समीक्षा भइसकेको अनुभव सुनाउनुभयो। उहाँले कविले पुस्तकका लागि विभिन्न विद्वानहरूसँग भूमिका लेखाउनुले यसको गहिराइ र महत्त्वलाई प्रष्ट पार्ने उल्लेख गर्नुभयो। मञ्जुश्रीले रायमाझीले छोराछोरी र नातिनातिनीसम्ममा साहित्यिक प्रेरणा जगाएको भन्दै उनको योगदानको प्रशंसा गर्नुभयो।
कार्यक्रममा प्राध्यापक डा. विद्यानाथ कोइराला र डा. हरि सिलवालले शुभकामना मन्तव्य राख्नुभएको थियो भने नियमित काव्य गोष्ठी अन्तर्गत करिब एक दर्जन कविहरूले कविता वाचन गरेका थिए। कविहरू दिल पौडेल, रचना मुक्तान, युवराज नास्तिक, गोविन्द मैनाली, मच्छेश्वर सापकोटा, कालिका त्रिपाठी, संगिता खरेल, यदुनाथ देउपुरे र शशीश्री आचार्यले समसामयिक कविता वाचन गरी कार्यक्रमलाई जीवन्त बनाएका थिए।
कवि रायमाझीले आफ्नै पुस्तक “गाउँ बिरानो भयो” बाट एक कविता वाचन गर्नुभयो भने अन्य तीन कविताहरू उनका छोरा निर्भिक जंग रायमाझी, छोरी सरिता रायमाझी र नातिनी गरिमा अधिकारीले वाचन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि डा. जिवेन्द्रदेव गिरि, विशिष्ट अतिथि डा. विद्यानाथ कोइराला, प्रा. डा. हरि सिलवाल, डा. इन्दुल केसि, साहित्यकार हरि मञ्जुश्री लगायत प्रलेसका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा प्रलेस काभ्रेले स्रष्टा विशेष सम्मान अन्तर्गत कवि नवराज उत्साही, मुरहरि रायमाझी, दिल पौडेल, केशव घिमिरे, डा. गिरि र हरि मञ्जुश्रीलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य प्रलेस काभ्रेका सदस्य श्रीकृष्ण पाण्डेले प्रस्तुत गर्नुभएको थियो भने प्रशंसा पत्र र सम्मानका उद्धरणहरू पनि उहाँले नै वाचन गर्नुभएको थियो। कार्यक्रममा जिल्ला कार्यसमिति सदस्यहरूको पूर्ण उपस्थिति रहँदा बनेपाको साहित्यिक वातावरण कविता र संवादले भरिएको थियो।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।