२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

काभ्रेमा स्वास्थ्य बीमा सेवा बिचलित : प्राथमिक सेवा केन्द्रमार्फत सेवा प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

नमनखबर डेस्क साउन १४, २०८२ १९२
काभ्रेमा स्वास्थ्य बीमा सेवा बिचलित : प्राथमिक सेवा केन्द्रमार्फत सेवा प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

श्रावण १३ गते, मंगलबार — धुलिखेल । काभ्रे जिल्लामा स्वास्थ्य बीमा बोर्डले लागू गरेको प्राथमिक सेवा केन्द्रमार्फत प्रदान गरिने सेवामा उत्पन्न अन्योल समाधानका लागि जिल्ला समन्वय समिति काभ्रेले सरोकारवालासँग व्यापक छलफल गरेको छ।

 

समितिका प्रमुख दीपक कुमार गौतमको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा स्थानीय तहका जनप्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख, पालिकास्तरीय स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य बीमा बोर्डका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

 

नेपाल सरकारले श्रावण १ गतेदेखि धुलिखेल अस्पताललाई बीमा सेवा प्रणालीबाट हटाएपछि बिमितहरू अन्योलमा परेका छन् भने प्राथमिक सेवा बिन्दुहरू अस्तव्यस्त भएका छन्। हाल स्वास्थ्य बीमा बोर्डले काभ्रे जिल्लामा ५ वटा प्राथमिक सेवा केन्द्र तोकेको छ — नमोबुद्धस्थित मेथिनकोट प्रादेशिक अस्पताल, सुन्थान र खोपासी प्राथमिक सेवा केन्द्र (पनौती), पाँचखाल प्राथमिक सेवा केन्द्र, र धुलिखेल स्वास्थ्य केन्द्र।

 

छलफलमा प्रमुख गौतमले देखिएको समस्या आकस्मिक नभइ सरकारी नीतिअनुसार कार्यान्वयन भएको बताए। उनले नीति र विधि अनुसार सबै सरोकारवालाले पहल गर्नुपर्नेमा जोड दिए। प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले ‘रेफर’ प्रणालीभन्दा पनि सेवा केन्द्रबाटै प्रभावकारी सेवा दिनुपर्ने आवश्यकता औंल्याए।

 

स्वास्थ्य बीमा बोर्ड काभ्रेपलान्चोककी संयोजक मुना निरौलाले रिफरल सेवामा रहेका बाहेक अन्य संस्थाहरू बोर्डमा सुचिकृत नभएको बताउँदै अन्य पालिकाहरूलाई सुचिकरणमा आउन आग्रह गरिन्।

 

हाल धुलिखेल र पाँचखाल बाहेकका सेवा केन्द्रबाट केही हदसम्म रिफरल सेवा सुचारु भए पनि जनशक्ति र पूर्वाधारको अभाव रहेको गुनासो उठाइएको छ। स्थानीय सरकारले जनशक्ति र स्थानको व्यवस्था मिलाइदिनुपर्ने माग प्रतिनिधिहरूले गरेका छन्।

कार्यक्रममा लाभग्राहीहरूले सेवा नपाएको गुनासो गर्दा स्थानीय प्रतिनिधिहरूले सीमित स्रोतसाधनमा पनि सेवा दिन प्रयासरत रहेको, सेवा विस्तार क्रमिक रूपमा भइरहेको जानकारी गराएका थिए। पाँचखालकी उपप्रमुख सुर्यमाया दनुवार र धुलिखेलका उपप्रमुख निराजन जंगमले पनि सेवा क्रमशः प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता जनाए।

 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।