किन सामाजिक सञ्जालमा रमाउन छोडे प्रयोगकर्ता ?
बनेपा । पछिल्लो समय सामाजिक सञ्जालमा प्रयोगकर्ताहरू समाउन छाडेका छन् । आजको समयमा सामाजिक सञ्जाल (प्रयोगकर्ता धेरै भए पनि त्यसबाट साँचो आनन्द लिने मानिसको संख्या भने घट्दै गएको देखिन्छ।
गत वर्षको तथ्याङ्क अनुसार ५० प्रतिशत प्रयोगकर्ताले सामाजिक सञ्जालबाट विश्राम लिएका थिए । सामाजिक सञ्जालबाट हुने गरेका देखासिकी, दुर्व्यवहार र गहिरो सम्बन्धको अभावमा युवाहरूमा विभिन्न प्रकारका मानसिक समस्याहरू देखिने गरेको तथ्याङ्कले देखाएको छ ।
यसको मुख्य कारण सामाजिक सञ्जालको उद्देश्य मनोरञ्जनभन्दा बढी देखावटी, तुलना र प्रतिस्पर्धामा केन्द्रित हुँदै जानु हो । जसबाट वास्तविकता भन्दा पनि देखावटीपन हाबी हुँदा हरेक सम्बन्ध कमजोर हुने गरेको देखिन्छ ।
मानिसहरू आफ्नो वास्तविक जीवनभन्दा पनि अरूले देख्ने छविलाई महत्व दिन थालेका छन्, जसले स्वाभाविक रमाइलोपनलाई दबाइदिन्छ। सामाजिक सञ्जालमा निरन्तर अरूको सफलताको प्रदर्शन देख्दा प्रयोगकर्ताहरू आफूलाई अरूसँग तुलना गर्न थाल्छन् । कसैको यात्राको फोटो, कसैको आर्थिक सफलता वा खुसी देखिने पारिवारिक जीवनले धेरैलाई आफ्नै जीवन अपूरो वा असफल जस्तो महसुस गराउँछ। यस किसिमको नकारात्मक तुलना मानसिक तनाव, आत्मविश्वासको कमी र असन्तुष्टिको कारण बन्छ, जसले प्रयोगकर्तालाई रमाइलोभन्दा चिन्तामा डुबाउँछ ।
अर्को कारण सामाजिक सञ्जालमा अत्यधिक सूचना (information overload) हुनु हो । समाचार, विज्ञापन, विवाद, नकारात्मक टिप्पणी र अफवाहहरूले प्रयोगकर्ताको दिमाग थकित बनाउँछ। निरन्तर स्क्रोल गर्ने बानीले ध्यान केन्द्रित गर्ने क्षमता घटाउँछ र सानो मनोरञ्जन पनि बोझजस्तै महसुस हुन थाल्छ । सामाजिक सञ्जालमा हुने आलोचना, ट्रोलिङ र घृणात्मक टिप्पणीले पनि प्रयोगकर्ताको मनोबल घटाउँछ। आफ्ना विचार वा भावनालाई खुलेर व्यक्त गर्दा नकारात्मक प्रतिक्रिया आउने डरले धेरै मानिस मौन बस्न बाध्य हुन्छन्। यसले आत्म-अभिव्यक्तिको स्वतन्त्रता कम गर्छ र प्रयोगकर्तालाई मानसिक रूपमा असहज बनाउँछ ।
त्यसैगरी, सामाजिक सञ्जालले वास्तविक सम्बन्धभन्दा सतही सम्बन्धलाई बढावा दिन्छ। धेरै ‘फ्रेन्ड’ वा ‘फलोअर’ भए पनि गहिरो भावनात्मक सम्बन्ध नहुँदा एक्लोपन बढ्छ। प्रत्यक्ष संवाद र आत्मीयता कम हुँदै जाँदा मानिसले साँचो रमाइलोभन्दा खालीपन महसुस गर्न थाल्छ।
त्यसो भन्दैमा सामाजिक सञ्जालका विविध फाइदाहरू छन् । सामाजिक सञ्जालबाट गरिब, निमुखा र दीर्घ र आपतकालीन रोगी र न्युन आर्थिक अवस्था भएका व्यक्तहरूलाई विभिन्न माध्यमबाट आर्थिक, भावनात्मक सहयोग उपलब्ध हुने गरेका छन् । नेपाल जस्तो देश जहाँ अधिकांश युवा शक्ति आफ्नो थातथलो छाडेर रोजगारी र अध्ययनको शिलशिलामा सहर वा विदेशिन्छ । सामाजिक सञ्जाल सुलभ, भरपर्दो र अत्यावश्यक सञ्चारमाध्यमको रुपमा स्थापित भएको छ । जसले आफन्त,साथीभाइ र प्रियजनलाई जोडिन, अध्ययन गर्न र अनलाईन मार्फत सिकाई र कमाई हुने माध्यम बनेको छ । जसबाट देशमा विदेशी मुद्रा समेत भित्रिने गरेको छ ।
अन्ततः, सामाजिक सञ्जालको अत्यधिक प्रयोगले समयको दुरुपयोग गराउँछ। लामो समय मोबाइल वा स्क्रिनमा बिताउँदा शारीरिक थकान, निद्राको समस्या र जीवनप्रतिको उत्साह घट्छ । अर्कोतर्फ यसको समुचित प्रयोगले व्यक्ति, समाज र राष्ट्रलाई नै समृद्धितर्फ धकेल्न सक्छ । यसकारण सामाजिक सञ्जाल र इन्टरनेटको समुचित प्रयोग गर्ने विषयमा थप बहस, चर्चा र यसको उपयुक्त प्रयोग गर्दै व्यक्ति र देशलाई समृद्ध बनाउन समाजका हरेक व्यक्तिले रचनात्मक भूमिका खेल्नुपर्दछ ।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।