२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

क्रोएसियामा तमु ल्होसार २०८२: नेपाली संस्कृति झल्कियो जाग्रेबको मुटुमा

नमनखबर डेस्क पुस २३, २०८२ १३७
क्रोएसियामा तमु ल्होसार २०८२: नेपाली संस्कृति झल्कियो जाग्रेबको मुटुमा

जाग्रेब । गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार २०८२ क्रोएसियाको राजधानी जाग्रेबमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

तमु समाज क्रोएसियाको आयोजनामा जाग्रेबस्थित मेन स्क्वायर ‘रिदम ग्रादा’मा आयोजित कार्यक्रममा विभिन्न जातजाति, समुदाय तथा नेपाली प्रवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

लामा गुरु नारायण गुरुङले मोलम पाठ गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। परम्परागत भेषभूषा, मौलिक नृत्य, गीत–संगीत र सांस्कृतिक प्रस्तुतिले कार्यक्रम स्थल नेपालीपनले झकिझकाउ बनेको थियो।

कार्यक्रम एनआरएनए क्रोएसियाका युवा संयोजक नोर्बु लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। सम्बोधनका क्रममा उनले तमु ल्होसार गुरुङ समुदायको मात्र नभई सम्पूर्ण नेपालीहरूको सांस्कृतिक पहिचान झल्काउने पर्व भएको उल्लेख गर्दै प्रवासमा रहँदा पनि भाषा, संस्कार र संस्कृति संरक्षण गर्नु सबै नेपालीको साझा दायित्व भएको बताए। यस्ता कार्यक्रमले आपसी एकता, भाइचारा र नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गर्ने उनको भनाइ थियो।

कार्यक्रममा क्रोएसियामा सक्रिय तामाङ समाज, मगर समाज तथा किराँत राई यायोख्याबाट विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो।

आयोजक तमु समाज क्रोएसियाले गुरुङ समुदायको मौलिक संस्कृति झल्काउने विशेष प्रस्तुति पस्किएको थियो। किराँत राई यायोख्या क्रोएसियाका अध्यक्ष अशोक राईले ‘आकाशैमा चिल हो कि बेसाना’ गीत प्रस्तुत गर्नुभयो भने गायिका शर्मिला गुरुङले ‘सलाईजु’ लगायतका गीत गाएर दर्शकहरूलाई मन्त्रमुग्ध बनाए । 

तमु समाज क्रोएसियाका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सबिन गुरुङले गर्नुभएको थियो।

सयौँ दर्शकहरूको सहभागिता रहेको कार्यक्रममा प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ थियो।

नेपालमा पुस १५ गते मनाइने तमु ल्होसार, क्रोएसियामा सबैलाई अनुकूल हुने गरी जनवरी ४ आइतबारका दिन मनाइएको हो। यस वर्ष गुरुङ जातिको नयाँ वर्ष ‘त ल्हो’ (घोडा वर्ग) स्वदेश तथा विदेशमा हर्षोल्लासका साथ मनाइएको छ।

प्राचीन तथा धार्मिक महत्व बोकेको तमु ल्होसार तमुहरूका प्रथम महापुरुषको उत्पत्तिको स्मरणमा मनाइँदै आएको पर्व हो।सभ्य र भव्य रूपमा सम्पन्न यस कार्यक्रमले क्रोएसियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, सांस्कृतिक सहअस्तित्व र राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाएको विश्वास लिइएको छ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।