‘मिस एण्ड मिसेस मल्टिट्यालेन्ट नेपाल २०२६’ आयोजना हुँदै, सहभागीका लागि आवेदन खुला
काठमाडौँ। नेपाली महिलाको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यसहित “मिस एण्ड मिसेस मल्टि ट्यालेन्ट नेपाल २०२६” प्रतियोगिताको घोषणा गरिएको छ। प्रतियोगितामा कुनै पनि पेशामा आबद्ध अविवाहित तथा विवाहित महिलाले सहभागी भई विजेता बन्न आवेदन दिन सक्ने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगितामा १६ देखि २८ वर्ष उमेर समूहका अविवाहित महिला तथा २० देखि ४५ वर्ष उमेर समूहका विवाहित महिला सहभागी हुन सक्नेछन्। सहभागीका लागि उचाइ ५ फिटदेखि ५.७ फिटसम्म तोकिएको छ।
प्रतियोगिताअन्तर्गत सहभागीहरूलाई २० दिनको तालिम कक्षा सञ्चालन गरिनेछ। प्रतियोगिताको आधिकारिक सल्लाहकार कोरियोग्राफरका रूपमा रोजिन शाक्य रहनेछन्। तालिम २०८२ फागुन २४ गते बिहान ११:३० बजेपछि सुरु हुनेछ। तालिमको स्थान ब्ल्याक स्टार जिम हल, बौद्ध तामाङ गुम्बा तय गरिएको छ। इच्छुक सहभागीहरूले थप जानकारीका लागि ९८५१२०८०११ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।
आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य नेपाली महिलालाई सशक्त, आत्मविश्वासी र प्रेरणादायी नेतृत्वकर्ता बनाउनु हो। यस प्रतियोगितामार्फत महिलाले आफ्नो प्रतिभा, बौद्धिकता, सौन्दर्य र सामाजिक उत्तरदायित्व प्रदर्शन गर्ने अवसर पाउने अपेक्षा गरिएको छ। साथै, प्रतियोगितालाई नेपाली सांस्कृतिक पहिचानको प्रवर्द्धन, महिला सशक्तीकरण, सामाजिक जिम्मेवारी तथा व्यक्तिगत र पेशागत विकासको महत्वपूर्ण प्लेटफर्मका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
प्रतियोगितामा विजेता तथा उपविजेताहरूलाई आकर्षक नगद पुरस्कार तथा क्राउन प्रदान गरिने आयोजकले जनाएको छ। जसअनुसार विजेताले ५० हजार रुपैयाँ, पहिलो रनरअपले ३० हजार रुपैयाँ, दोस्रो रनरअपले २० हजार रुपैयाँ नगद पुरस्कारसहित क्राउन प्राप्त गर्नेछन्।
आयोजकका अनुसार प्रतियोगिताले महिला प्रतिभा उजागर गर्नुका साथै सामाजिक चेतना, सांस्कृतिक संरक्षण र सकारात्मक परिवर्तनको अभियानलाई समेत बलियो बनाउने विश्वास लिइएको छ
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।