'उद्यमशीलता र पारदर्शिता' सन्देशसहित काभ्रेमा मनाइयो ६९औं सहकारी दिवस
उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता’ भन्ने मूल नारासहित जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकले ६९औँ राष्ट्रिय सहकारी दिवस विविध र सृजनात्मक कार्यक्रमसहित मनाएको छ।
सहकारी क्षेत्रलाई थप सशक्त, उत्तरदायी र जनमुखी बनाउने उद्देश्यका साथ संघले सहकारीका सञ्चालक तथा कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता, रक्तदान कार्यक्रम, संघ परिसरमा गणेश तथा लक्ष्मीको प्राण प्रतिष्ठा, झण्डोत्तोलन, वृक्षारोपण, क्यालेन्डर सार्वजनिक तथा उद्यमशील महिलाहरूको विशेष भेला जस्ता कार्यक्रम सम्पन्न गरेको जनाएको छ।
संघका अध्यक्ष अमन पोटेले सहकारी क्षेत्रलाई आर्थिक समृद्धिको बलियो आधारका रूपमा विकास गर्न संघ निरन्तर योजना निर्माण र कार्यान्वयनमा जुटिरहेको बताए। सहकारीमार्फत व्यवसाय, उद्यम र आर्थिक समृद्धिको स्पष्ट मार्गचित्र बनाएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले सहकारी क्षेत्रमा देखिएका समस्या, कानुनी जटिलता तथा बचतकर्ताको निक्षेप सुरक्षाका लागि कानुनी परामर्श र सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले सहकारी क्षेत्रका समस्या समाधानमा स्थानीय सरकार सक्रिय रहेको उल्लेख गरे। प्रदेश र संघीय तहअन्तर्गत रहेका केही सहकारी संस्थाका कारण बचतकर्ताको रकम अझै जोखिममा रहेको बताउँदै उनले स्थानीय तहमा अभिलेखीकरण प्रक्रिया सुरु भए पनि त्यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको धारणा व्यक्त गरे।
उपप्रमुख विमला सापकोटा दाहालले सहकारी व्यवस्थापन सुधार तथा उद्यमशीलता प्रवर्द्धनका लागि नगरपालिका निरन्तर समन्वयमा रहेको बताइन्। अभिमुखीकरण कार्यक्रममार्फत स्थानीय स्तरमा आर्थिक गतिविधि सशक्त बनाउन पहल भइरहेको उनको भनाइ थियो।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद कुमार न्यौपाने, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडका उपेन्द्र दाहाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चालक समिति तथा उपसमितिका पदाधिकारी, सल्लाहकार र पूर्व अध्यक्षहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।
कार्यक्रम संघका सचिव प्रकाश बञ्जाराको सञ्चालनमा सम्पन्न भएको थियो । दिवसअन्तर्गत आयोजित फुटसल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई पुरस्कार वितरण गरिएको थियो। प्रथम स्थान हासिल गरेको पाँचखालको स्वेच्छा बचत सहकारीले नगद १५ हजारसहित शिल्ड र मेडल प्राप्त गर्यो। पनौतीको इन्द्रेश्वर सहकारी दोस्रो हुँदै नगद १० हजार प्राप्त गर्न सफल भयो भने बनेपाको एक्सप्रेस साकोस तेस्रो स्थान हासिल गर्दै नगद ५ हजारसहित पुरस्कृत भयो ।
सहभागीहरूले यस दिवसले सहकारी क्षेत्रभित्र पारदर्शिता, उत्तरदायित्व र उद्यमशीलताको सन्देश प्रवाह गर्नुका साथै सहकार्य र एकताको भावना सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।